लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा भारतको बिनु नदीमा बेपत्ता नेपालीको खोजीका लागि पहल

थर्कोट समाचारदाता
दाङ,२३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्ड स्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गर्नु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले यो घटनामा सेवा गर्नु नै मानविय धर्म हो त्यसैले हामी सबै मिलेर उद्वारमा खटिनुपर्छ भन्दै सो पहल थाल्नुभएको हो । उहाँले भन्नुहुन्छ यस घटनाले मलाई अत्यन्तै दुःखी बनाएको भ भन्दै मुख्यमन्त्री आचार्यले कूटनीतिक माध्यम मार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालय मार्फत आवश्यक पहल गर्न आग्रह गर्नु भएको हो । बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको वाकुडा क्षेत्रमा पर्ने बिनु नदीमा आएको बाढी र पहिरोका कारण बर्दिया जिल्लाका चार नेपाली नागरिक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार रहनु भएको छ । उहाँहरू रोजगारीको सिलसिलामा उत्तराखण्ड पुग्नु भएको थियो । मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्दारको कामना गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *