


थर्कोट समाचारदाता
तुलसीपुर २५ माघ ।
तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवा स्थित सगरमाथा बोर्डिङ स्कुलले आइतबार विद्यालय प्राङ्गणमा एक दिने ‘फुड फेस्टिबल’ अर्थात खाद्य मेला सम्पन्न गरेको छ ।विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र नभएर व्यवहारिक सीप र उद्यमशीलतासँग जोड्ने उद्देश्यले विद्यालयले एक दिने ‘फुड फेस्टिबल’ अर्थात खाद्य मेलाको आयोजना सम्पन्न गरेको हो । मेलामा समुहगत रूपमा स्टलहरू राखेर विद्यार्थीहरूले आफैँले तयार पारेका विभिन्न मौलिक तथा स्थानीय परिकारहरू प्रदर्शनी एवं बिक्री समेत गरेका थिए । विद्यार्थीहरूले अर्गानिक खानाका साथै नेपाली जनजीवनमा लोकप्रिय सेलरोटी, पपकर्न, गहुँको रोटी, भाजीको साग र पकौडा जस्ता परिकारहरू तयार पारेका थिए । आफ्नै सक्रियतामा परिकार बनाउने, मेनु तयार गर्ने र बिक्री गर्ने कार्यमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो । विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सीप सिकाउन मेला फलदायी भएको बताउनुभएको थियो ।

‘यो फुड फेस्टिबलले विद्यार्थीलाई हाम्रो सांस्कृतिक परिकारहरूको महत्त्व मात्र बुझाएको छैन, उनीहरूमा आर्थिक कारोबार र बजार व्यवस्थापनको आधारभूत ज्ञान समेत विकास गराएको उहाँले बताउनु भएको हो ।


विद्यार्थीले सिकाईसंगै आम्दानी समेत गरेका थिए।’ विद्यार्थीहरूले आफैँले मूल्य निर्धारण गरी खाना बिक्री गर्ने अभ्यास गर्दा उनीहरूमा आत्मविश्वास बढेको उहाँले बताउनुभएको थियो । पछिल्लो समय विद्यालयहरूले केवल परीक्षा केन्द्रित शिक्षा मात्र नभई ‘लर्निङ बाइ डुइङ’ अर्थात गरेर सिक्ने पद्धतिलाई जोड दिदै आएको विद्यालयले ज नाएको थियो । सगरमाथा बोर्डिङले पनि सोही पद्धति अनुरूप विद्यार्थीलाई श्रमको सम्मान गर्न र उद्यमशील बन्न प्रेरित गर्न यो कार्यक्रम गरेको हो । मेलामा अभिभावक तथा स्थानीयहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक वलीको अध्यक्षता तथा विद्यालयका सिइओ यमकान्त खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको थियो ।



तपाईलाई पनि मन पर्न सक्छ
-
संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता
-
आचार्यकुलम् दोस्रो वार्षिक साधारणसभा सम्पन्न
-
संसदीय निर्वाचनका सम्पन्न लागि सुरक्षा व्यवस्था कडा
-
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टीको १२औं वार्षिक साधारणसभा असोज २५ मा हुने
-
भारतिय दुतावासद्वारा मावि सौडियारलाई यातायात सेवा सुचारू,

